काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा सोमबार आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको हो ।
मधेशले दिएको १ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
आर्मीको जितमा विनोद भण्डारीले अविजित रहदै ३४ रन बनाए । रोहित पौडेलले २५ रन जोड्दा अर्जुन साउदले १७ रन बनाए । राजेश पुलामी १६ रनमा अविजित रहे ।
मधेशका आदील आलम, रुपेश सिंह र हरिशंकर शाहले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो ।
मधेशका लागि सन्तोष कार्कीले २१ रन बनाए । हसिम अन्सारीले २० तथा रोहण बिकले अविजित १७ रन बनाए । नसरुद्दीन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन जोडे ।
आर्मीका सोमपाल कामी र सुसन भारीले २/२ विकेट लिए । हरि चौहानले १ विकेट लिए ।
यस जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । समूह 'ए' मा रहेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ ।
मधेशले ४ खेलमा ३ अंक जोडेको छ । मधेश चौंथो स्थानमा रहेको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।