काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए । पवन सरार्फ १ रनमा अविजित रहे ।
कर्णाली प्रदेशका प्रकाश जैसीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो ।
उसका लागि कप्तान रविन्द्र जंग शाहीले २७ तथा विपिन रावलले १७ रन बनाए । उसका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि दिपेन्द्र ऐरी र ललित राजवशीले ३/३ तथा सागर ढकाल र मंजित श्रेष्ठले २/२ विकेट लिए ।
पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक बनाएको छ । पुलिस शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक रहेको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।