काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार प्रदेश नम्बर १ लाई १३ रनले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।
सुदुरपश्चिमले दिएको १ यस ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ३१ रन बनाउन सक्यो ।
उसका लागि दिपेश कँडेलले अविजित ३४ रन तथा कप्तान फिर्दोस अन्सारीले ३३ रन बनाए । सोनु मण्डलले अविजित २६ तथा सन्दीप ढुङ्गानाले १३ रन बनाए ।
सुदुरपश्चिम प्रदेशका मिलन बोहोराले २ तथा हेमन्त धामी, नारायण जोशी, नरेन साउद, शेर मल्ल र लोकेन्द्र चन्दले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
उसका लागि बसन्त खत्रीले ५३ रनको अर्धशतकीय इनिङ खेले । मिलन बोहोराले ४४ तथा लोकेन्द्र चन्दले २४ रन बनाए ।
प्रदेश १ का लागि कप्तान फिर्दोस अन्सारीले ३ तथा दिपेश कडेलले २ विकेट लिए । कमल खत्रीको नाममा १ विकेट रह्यो
पहिलो जित हात पारेको सुदुरपश्चिमको टोलीले ३ खेलमा ४ अंक बनाएको छ । प्रदेश १ को भने ३ खेलबाट २ अंक रहेको छ ।
यस समूह 'बी' मा एनआरएनए ५ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।