काठमाडौं । नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको बताएका छन् ।
बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा भुटानसँग पराजित भएपछि बोल्दै प्रशिक्षक केसीले हार स्वीकार योग्य नरहेको बताएका हुन् ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको थियो ।
'पक्कै पनि नतिजाको हिसाबमा नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौँ,' प्रशिक्षक केसीले भने ।
प्रशिक्षक केसीले बहराइनको मौषममा घुलमिल हुन नसक्दा नेपाली खेलाडीले उत्कृष्ट खेल्न नसकेको बताए ।
'बहराइन हामी एक दिन अगाडी आईपुग्यौं । हामी यहाँको टाइम, यहाँको तापक्रममा हामी घुलमिल हुन सकेको छैनौँ । जस्तो खेलाडीहरु धेरै जना बिरामी, खेलाडीको ज्यानमा शक्ति नै नभएको जस्तो भयो । हिजो हामीले साँझ ट्रेनिङ गर्यौं । त्यसले झन घाटा गर्यो,' उनले थपे, 'भुटानसँग हारेको स्वीकार पर्छ । भुटान १० दिन अगाडी आएर यहाँ घुलमिल भईरहेको छ । हामीले एउटा ट्रेनिङ सेसन समर राम्रो गर्न पाएनौं । तरपनि यो नतिजा स्वीकार योग्य छैन ।'
भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।
खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा एक एक गोल गरेको थियो ।
छनोटको समूह 'बी' मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।
अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।