काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा बायर्नले घरेलु मैदानमा स्टुटगार्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
बायर्नले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।
माथिस टेलले ३६ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा क्रिस फुह्रिचले गोल गर्दै स्टुटगार्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा सेर्होउ गुइरासेले पेनाल्टीमा गोल गर्दै स्टुटगार्डलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बायर्नले ६ खेलमा १२ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
स्टुटगार्ड ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।