काठमाडौं । नेपालका युवा फुटबलर शास्वत राना डेनमार्कको शीर्ष डिभिजन क्लब एफसी कोपनहेगनमा अनुबन्धित भएका छन् ।
१५ वर्षीय लेफ्ट विंग ब्याक शास्वतले च्याम्पियन्स लिग खेलिरहेको क्लब कोपनहेगनसँग ३ वर्षको व्यवसायिक सम्झौता गरेका छन् ।
सम्झौतासँगै उनी २०२५ सम्म कोपेनहेगनको युथ टोलीमा रहने छन् । उनले यू-१७ र यू-१९ को प्रतियोगिता खेल्ने छन् ।
कोपेनहेगनका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार शास्वतलाई १९ वर्षसम्म क्लबको सिनियर टिमबाट खेलाउने हिसाबले सम्झौता गरिएको हो ।

डेनमार्कमै जन्मिएर हुर्केका शास्वतले यू-२० साफको लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सहभागिता जनाएका थिए ।
६ वर्षकै उमेरबाट फुटबल खेल्न थालेका उनी १४ वर्षको उमेरमा कोपनहेगनको एकेडेमीमा आएका थिए ।
उनले कोपनहेगनबाट उमेर समूहको थुप्रै प्रतियोगिता खेलिसकेका छन् ।
शास्वतका बुवा विवेक राना नेपालका पूर्व कराते खेलाडी हुन् । उनका आमा सुशिला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै रेमिट चलाएर बसिरहेका छन् ।
