काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो ।
बंगलादेश भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो।
यस्तै अर्को खेलमा साविक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ । यस खेल ५:३० बजे सुरु हुनेछ ।
भारत लगातार दोस्रो जितको खोजीमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।
माल्दिभ्स भने पहिलो जितमा खोजीमा रहेको छ । पहिलो खेलमा माल्दिभ्स बंगलादेशसँग पराजित भएको थियो ।
समूह 'ए' मा रहेको भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । माल्दिभ्स र पाकिस्तान अंक विहीन रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।