काठमाडौं । आयोजक श्रीलंका घरेलु भूमिमा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै श्रीलंका अन्तिम चारमा पुगेको हो ।
श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गरे ।
उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै समूह 'ए' को श्रीलंकाले २ खेलमा ३ अंक जोड्यो ।
श्रीलंका समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
यस समूहबाट बंगलादेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ ।
अब श्रीलंकाले सेमिफाइनलमा नेपालको सामना गर्नेछ ।