काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ ।
दुबईमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १ सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा पाथुम निशन्काले ५५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै भानुका राजपाक्षेले २४ तथा कप्तान दसुन शनकाले २१ रन बनाए ।
वानिन्दु हसरंगा डी सिल्भाले अविजित १० रन बनाए ।
पाकिस्तानका मोहमद हस्नेन र हरिस राउफले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाए ।
मोहमद नवाजले २६ रन जोड्दा मोहमद रिजवानले १४ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । महेश थिक्सना र प्रमोद मदुशनले २/२ विकेट लिए ।
यस जितसँगै श्रीलंका सुपर चारमा अपराजित रहदै फाइनल पुगेको छ ।
शीर्ष स्थानको श्रीलंकाले ३ खेलमा ६ अंक जोड्यो ।
पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ ।
पाकिस्तानले ३ खेलमा ४ अंक जोड्यो ।

अब फाइनलमा पाकिस्तान र श्रीलंकाबीच नै प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल आइतबार हुनेछ ।