काठमाडौं । नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० एसियन कपमा छनोट हुने आशा राखेको बताएका छन् ।
एएफसी यू-२० एसियन कप छनोट अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले छनोट हुने आशा राखेको बताएका हुन् ।
'कोभिडको कारणले हाम्रो फुटबल गतिविधिमा प्रभावित गर्यो । एएफसी कप छनोटका लागि यो पर्याप्त हैन । तर, हामीसँग विकल्प थिएन । त्यसैले हामीले ३ महिना मात्र तयारी गर्यो । आशा गरौँ हामी छनोट हुन्छौ,' प्रशिक्षक केसीले भने ।
बहराइनमा आयोजना हुने छनोट भोलि शनिबारबाट सुरु हुँदैछ । नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन्।
प्रशिक्षक केसीले छनोटका लागि तयारी राम्रो रहेको समेत बताए ।
'हामीले तीन महिनाबाट तयारी गरिरहेका छौँ । यसबीचमा हामीले साफ यू-२० च्याम्पियनसिप खेल्यौं । त्यसैले हाम्रो तयारी राम्रो छ,' प्रशिक्षक केसीले भने ।
नेपालले शनिबार भुटानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।