काठमाडौं । भुटानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो ।
महिला साफ इतिहासमा भुटानको यो पहिलो ऐतिहासिक जित समेत हो । भुटानले यस अघि महिला साफमा कुनैपनि ज्जित निकालेको थिएन ।
श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा चार गोल थपेको थियो ।
भुटानको जितमा डेकी लाजोमले दुई गोल गरिन् । न्याम्गेल डेमा, छिरिङ लाडेन र गाले वाङमोले एक एक गोल गरिन्।
खेलको ४२ औं मिनेटमा डेमाले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
५० औं मिनेटमा डेकीले गोल गर्दै भुटानको अग्रता दोब्बर बनाईन् ।
खेलको ६४ औं मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाईन् ।
८५ औं मिनेटमा छिरिङले गोल गर्दा भुटान ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा वाङमोले गोल गर्दै भुटानलाई ५-० को जित दिलाईन् ।
यस जितसँगै समूह 'बी' मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ । जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा भुटानले नेपालसँग ४-० गोलको हार व्यहोरेको थियो ।
श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
अब श्रीलंकाले नेपालसँग सोमबार खेल्नेछ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।