क्यान भन्छ, 'सन्दीपलाई निलम्बनको तयारी छैन, प्रहरीलाई सहयोग गर्छौं'

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका विषयमा प्रहरीले गर्ने अनुसन्धानलाई सहयोग गर्ने भएको छ ।
तर, क्यानले सन्दीपलाई तत्काल निलम्बन वा कारबाही भने नगर्ने भएको छ ।
सन्दीपलाई कप्तानबाट हटाउनेबारे क्यानले तत्काल छलफल नगरेको तर उनले अनुशासन तोडेको विषयमा छानबिन गर्ने क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।
'क्यानले उनको बारेमा आन्तरिक अनुशासन बाहिर गएर क्रियाकलाप गरेको बारेमा छानबिन गर्छ,' मल्लले खेलपाटीसँग भने, 'उनी एक आरोपी मात्र रहेकाले अहिले नै क्यानले अरु निर्णय लिने छैन ।'
प्रहरी अनुसन्धानको विषय रहेकाले यस बिषयमा धेरै नबोल्ने उनले बताए । अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न क्यान तयार रहेको समेत मल्लले बताए ।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
कप्तान सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
प्रहरी टोलीद्वारा घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।
सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।
सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।













