काठमाडौं । महिला साफ च्याम्पियनसिपमा अभ्यास मैदानको रुपमा प्रयोग गरिने च्यासल रंगशालामा बाढी पसेको छ।
मंगलबार राति परेको वर्षासँगै मनोहरा खोलामा आएको बाढी च्यासल रंगशालामा पसेको हो ।
रंगशालाको मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ । बाढीले ल्याएको हिलो र फोहोरसहितको पानी मैदानमा जमेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासललाई अभ्यास मैदानको रुपमा प्रयोग गर्न मर्मत गरिरहेको थियो ।
एन्फाले च्यासलसँगै भद्रकालीको आर्मीको मैदानलाई साफमा सहभागिता जनाउने टोलीका लागि अभ्यास मैदानको रुपमा प्रयोग गरिने जनाएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
बाढीले पुर्राएको क्षतिको विवरण आएको छैन ।
महिला साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले मैदानको क्षतिको विवरण संकलन भईरहेको बताए ।