काठमाडौं । च्यासल रंगशाला र भद्रकालीमा रहेको त्रिभुवन आर्मी क्लबको मैदानलाई महिला साफ च्याम्पियनसिपमा अभ्यास मैदानको रुपमा प्रयोग गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल र आर्मीको मैदानलाई साफमा सहभागिता जनाउने टोलीका लागि अभ्यास मैदानको रुपमा प्रयोग गरिने जनाएको छ ।
एन्फाले च्यासल र आर्मीको मैदानलाई मर्मतसम्भारको काम समेत सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको समूह 'बी' मा रहेको छ ।नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।