काठमाडौं । इंग्ल्यान्ड महिला विश्व फुटबलमा नयाँ इतिहास रच्ने बाटोमा छ । तर यसमा बाधा तेर्साउने काम गर्नेछ, जर्मनी । युरो २०२२ को फाइनल आज राति हुँदैछ, यिनै दुई फुटबलका पारम्परिक शक्तिबीच । वेम्बलीमा हुने फाइनल नेपाली समय अनुसार राति पौने दस बजे सुरु हुनेछ । इंग्ल्यान्डले अहिलेसम्म महिला फुटबलमा कुनै ठूलो उपाधि जितेको छैन् । त्यसैले यस खेलमा विजयी रहे, इंग्ल्यान्डले शानले भन्ने छ, ‘हामी युरोपेली विजेता हौं ।’
सन् १९६६ को पुरुष विश्वकपयता इंग्ल्यान्डले अहिलेसम्म केही पनि ठूलो जितेको छैन्, त्यसैले महिला टिमले वेम्बलीमा जित निकाले, त्यो वास्तवमै ऐतिहासिक हुनेछ, धेरै अर्थ लाग्नेछ । अहिले नै इंग्ल्यान्डमा महिला फुटबलको ज्वरो बढेको छ । यदी साँच्चै उपाधि जिते, त्यहाँ महिला फुटबलले बेग्लै स्तर, लोकप्रियता र सम्मान पाउने छ । यो इंग्ल्यान्डका लागि मात्र होइन्, समग्र महिला फुटबलकै लागि राम्रो हो । तर फुटबलमा चाहेर मात्र हुने त केही होइन् ।

उसको बाटोमा प्रतिद्वन्द्वी भएर उभिएको छ, जर्मनी । इतिहासले के भन्छ भने जर्मनी त्यस्तो टिम हो, जसले एक पल्ट होइन, दुई पल्ट होइन्, आठ पल्ट युरोपेली उपाधि जितेको छ । सन् २००९ कै युरो फाइनल जर्मनीले जितेको अन्तिम पटकको ठूलो उपाधि हो । संयोग कस्तो भने त्यति बेला जर्मनीले अरू कसलाई होइन्, इंग्ल्यान्डलाई नै हराएको थियो । अझ स्कोर थियो, ६–२ । तर ती फरक दिन थिए । फरक परिस्थिति थिए । विश्व महिला फुटबलमा धेरै परिवर्तन आइसकेको छ ।
जहाँ इंग्ल्यान्ड महिला फुटबलमा उदाउँदो सूर्य हो भने जर्मनी अस्टाउँदो । तय छ, इंग्ल्यान्डले जितोस भनेर आफ्नो टिमलाई समर्थन गर्न प्रसिद्ध वेम्बलीमा ९० हजारको हाराहारीमा दर्शक आउने छन् । जुन आफैमा कीर्तिमान हो, जसले देखाउँछ, इंग्ल्यान्डमा महिला फुटबलको अर्थ के हो । उत्तिकै मीठो संयोग के रहेको छ भने फाइनलमा त्यस्ता दुई टिम पुगेका छन्, जसले पूरा प्रतियोगितामै राम्रो खेलेको छ । न त इंग्ल्यान्ड न जर्मनी भाग्यले फाइनल पुगेका हुन् ।
सुरुमै उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सेमिफाइनलमा स्विडेन जत्तिको टिमलाई मज्जाले खेलाई खेलाई ४–० ले हराएको थियो । स्विडेन प्रतियोगितामै सर्वाधिक उच्च वरीयताको टिम थियो, त्यो भनेको फिफा वरीयतामा दोस्रो स्थानमा रहेको टिम । जर्मनीले भने सेमिफाइनलमा फ्रान्सलाई २–१ ले पन्छाएको थियो । प्रतियोगिता अगाडि जर्मनीको धेरै चर्चा थिएन्, तर प्रतियोगिता अगाडि बढ्न थालेपछि जर्मनीले पनि आफ्नो वास्तविक रंग देखाउन थालेको हो ।

फेरि इतिहासमै फर्कने हो भने इंग्ल्यान्ड र जर्मनीबीच अहिलेसम्म २७ खेल भएका छन् । त्यसमध्ये अन्तिम खेल फेब्रवरीमा भएको थियो, जसमा इंग्ल्यान्ड विजयी रह्यो । तर समग्रमा कुरा गर्दा भने इंग्ल्यान्ड कमजोर छ, उसले जर्मनविरुद्धका २१ खेल गुमाएको छ । यस्तोमा इंग्लिस कप्तान लेह विलियमसन भन्छिन्, ‘यो त इतिहास भयो, दन्त्य कथाको जस्तो इतिहास । वर्तमानको कुरा गरौं न, हामी प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट टिम रहेका छौं ।’
इतिहासले के पनि भन्छ भने विशेषत: पुरुष फुटबलमा इंग्ल्यान्डलाई अधिकांस समय निराश र दु:खी बनाउने टिम भनेकै जर्मनी हो । यसका अनेक उदाहरण छन् । डर छ, कतै जर्मनीले महिला फुटबलमा पनि यसपल्ट यस्तै विघ्नको काम गर्ने त होइन् ? जर्मन टिमकी प्रशिक्षक मार्टिना भोस–टेकलेनबर्ग भन्छिन्, ‘हामीलाई थाहा छ, वेम्बलीको माहौल पूर्णत: इंग्ल्यान्डको पक्षमा हुनेछ । तर खेलको अन्त्य हाम्रो पक्षमा हुनेछ । हामी आफ्नो खेल खेल्नेछौं र विश्वास छ, जित्ने पनि छौं ।’
–बीबीसीको सहयोगमा ।