काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन एरिक्सनले १४ नम्बरको जर्सी लगाउने भएका छन् ।
युनाईटेडले बिहीबार एरिक्सनलाई १४ नम्बरको जर्सी दिईएको जनाएको छ ।
यस अघि जेसे लिंगार्डले उक्त जर्सी लगाउदै आएका थिए । तर, लिंगार्डले क्लब छाडिसकेका छन् ।
युनाईटेडले फ्री ट्रान्सफरमा एरिक्सनलाई यसै समरमा अनुबन्ध गरेको हो ।
३० वर्षीय एरिक्सनले युनाईटेडसँग ३ वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले ब्रेन्टफोर्डबाट खेलेका थिए । क्लबसँग एरिक्सनको सम्झौता जुनको अन्तिमबाट सकिएको थियो ।
गत सिजन उनले ब्रेन्टफोर्डका लागि ११ प्रिमियर लिग खेलेका थिए ।
एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
डेनमार्कका एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
तर, एरिक्सनले युरोकप दौरान भएको हृदयघातपछि ब्रेन्टफोर्डबाटै पुनरागमन गरेका हुन् ।
इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेपछि एरिक्सन इंग्लिस क्लब आएका थिए ।