काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथि भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाउने तयारी भएको छ ।
ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाउने तयारी भएको हो ।
३० वर्षीय नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका थिए ।
नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
तर, खुलाईएको रकम भन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ ।
नेयमारविरुद्धको मुद्दा आगामी अक्टोबर १७ मा बार्सिलोनाको एक अदालतमा दर्ता गरिनेछ । कतार विश्वकप सुरु हुनुभन्दा एक महिना अगाडी मुद्दा दर्ता हुनेछ ।
नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर हुनेछ ।
नेयमारसँगै बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता हुनेछ ।
फुटबल बजारमा केन्द्रित ब्राजिलको कम्पनी डीआईएसले सात वर्षअघि दायर गरेको उजुरीपछि नेयमारविरुद्ध मुद्दा दर्ताको तयारी भएको हो ।
डीआईएसले नेयमार सरुवा हुँदा शुल्कको ४० प्रतिशत आफ्नो अधिकार रहेको बताउदै आएको छ । जसमा नेयमार, उनको परिवार र बार्सिलोना ठगेको आरोप डीआईएसको छ ।
नेयमार २०१७ मा पीएसजी आएका थिए ।