एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्ने चर्चाबाट पछि हटेको छ । स्पेनिस महारथी क्लब एट्लेटिकोले आफु रोनाल्डो अनुबन्धन गर्ने दौडमा नरहेको प्रस्ट पारेको छ । क्लबका अध्यक्ष एनरिके सेरेजोले रोनाल्डोसँग जोडिएको चर्चालाई अस्विकार गर्दै व्यवहारिक रुपमा रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने बताएका हुन् । उनले रोनाल्डोलाई क्लबले धान्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रि सिजन टूरलाई गुमाएका ३७ वर्षिय रोनाल्डो यसै हप्ता युनाईटेड फर्किएका छन् । रोनाल्डोका एजेन्ट जर्ज मेन्डिस रोनाल्डोलाई युनाईटेड भन्दा बाहिर लैजान चाहन्छन् । यसअघि चेल्सी र बायर्न म्युनिखले रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने प्रस्ट पारिसकेका छन् । त्यसपछि रोनाल्डोको सम्भावित गन्तव्यको रुपमा एट्लेटिको मड्रिड जोडिएको हो ।
रोनाल्डो युनाईटेड आएर नयाँ प्रशिक्षक एरिक टेन ह्यागसँग वार्ता गरेका छन् । रोनाल्डोले क्लब छाड्ने घोषणा गरेपछि पहिलो पटक दुई जनाबीच भेटवार्ता भएको हो ।
स्पेनिस रेडियोसँग कुरा गर्दै एट्लेटिको अध्यक्ष सेरेजोले भनेका छन्, ‘मलाई थाहा छैन, कसले रोनाल्डो र एट्लेटिकोको कथा बनाएको छ ।’
‘यो सत्य हैन । यो व्यवहारिक रुपमा पनि सम्भव छैन ।’ उनले थपेका छन् ।
म्यानचेस्टर युनाईटेडले पनि रोनाल्डो बिक्रीमा नभएको बारम्बार बताउँदै आएको छ । रोनाल्डोको हप्ताको ३ लाख ६० हजार पाउण्डको सम्झौता अझै एक वर्ष बाँकी छ ।
रोनाल्डो मंगलबार युनाईटेड गएका थिए । उनले क्लबका नयाँ सहकर्मी क्रिस्टियन एरिक्सन र लिसान्ड्रो मार्टिनेज लगायतसँग भेट गरेका थिए । उनले प्रशिक्षक टेन ह्यागसँग समेत पछिल्लो थाइल्याण्ड र अष्ट्रेलिया भ्रमणको बारेमा छलफल गरेका थिए ।