के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

काठमाडौं। क्रिकेटको छोटो संस्करणमा दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्ध नेपालले छाती तानेर प्रतिस्पर्धा गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो।
तर, चलिरहेको टी–२० विश्वकपमा नेपालले त्यो कल्पनालाई वास्तविकतामा बदलिदियो। जितको अत्यन्तनजिक पुगेर पनि अन्तिम क्षणमा नेपाल ४ रनले पराजित हुन पुग्यो।
आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा १८४ रन बनाएको थियो। जवाफमा नेपालले ६ विकेट गुमाउँदै १८० रन बनायो। लक्ष्य छुन नसके पनि नेपालले विश्व क्रिकेटमा आफ्नो सामर्थ्य मजबुत रूपमा प्रस्तुत गर्यो।
नेपालको साहसी प्रदर्शनले दक्षिण अफ्रिकाका पूर्वस्टार तीव्र गतिका बलर डेल स्टेनलाई पनि प्रभावित बनाएको छ। सामाजिक सञ्जाल एक्स (एक्स) मा उनले लेखेका छन्,‘यदि कहिल्यै तपाईंहरूलाई मेरो सहयोग चाहियो भने म सधैं तयार छु।’
लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुआतमै दुई विकेट गुमाए पनि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको ८२ रनको साझेदारीले खेलमा फर्कियो। दीपेन्द्र आउट भएपछि त्यो साझेदारी टुट्यो। त्यसपछि रोहित, आरिफ शेख र गुल्सन झा छिट्टै पभेलियन फर्किए।
अन्तिमतिर लोकेश बामले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जितको आशा दिलाए। अन्तिम ३ ओभरमा ४६ रन आवश्यक हुँदा उनले आक्रमण जारी राखे। तर, अन्तिम ओभरमा साम करनको कसिलो बलिङका कारण नेपाल लक्ष्य पार गर्न असफल भयो।
खेलपछि कप्तान रोहित पौडेलले भने,‘नतिजा हाम्रो पक्षमा आएन। तर, प्रयासको हिसाबले फिल्डिङ, बलिङ र ब्याटिङ सबैमा म टोलीलाई १०० प्रतिशत अंक दिन्छु। डेथ ओभरमा बलिङ गर्नु सजिलो हुँदैन। साम करनले उत्कृष्ट बलिङ गरे। हामी यहाँबाट अझ सुधार गर्दै जानेछौं।’
आफ्नो रणनीतिबारे बोल्दै रोहितले थपे,‘अन्तिम पाँच ओभरका लागि हामीले विकेट जोगाएर प्रति ओभर १०–१२ रन बनाउने योजना बनाएका थियौं। प्रत्येक ओभरको सुरुआती दुई बलमा बाउन्ड्री प्रहार गर्ने लक्ष्य थियो।’
यस प्रदर्शनपछि नेपाललाई अब सानो टोलीको रूपमा हेर्ने ठाउँ छैन। इङ्ल्यान्डजस्तो बलियो टोलीलाई जितको मुखबाट फर्काउन नेपालले बाध्य बनाएको यो खेल नेपाली क्रिकेटका लागि आत्मविश्वास बढाउने उपलब्धि बनेको छ।
यससँगै स्टेनको प्रतिकृयाले एक बहस पनि छेडेको छ– के उनी नेपाली टिमको बलिङ प्रशिक्षक बन्लान् त? के नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बलिङ प्रशिक्षक राख्ला त?







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



