भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।
तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।