काठमाडौं । इंग्ल्यान्डले मंगलबार युरो २०२२ को पहिलो सेमिफाइनलमा स्विडेनको सामना गर्दैछ र खेल नेपाली समय अनुसार राति पौन एक बजे सुरु हुनेछ । स्विडेन सन् १९८४ को विजेता हो भने इंग्ल्यान्ड तेस्रो पल्ट प्रतियोगताको फाइनल प्रवेशको योजनामा हुनेछ । युरोमा प्राय: उपाधिको दावेदार रहँदै आएको इंग्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन्, तर अहिलेसम्मको प्रदर्शनको आधारमा इंग्ल्यान्ड पहिलो पल्ट च्याम्पियन बन्ने अडकल आटिएको छ ।
इंग्ल्यान्डले समूह चरणमा नर्वेलाई ८–० ले हराएको थियो भने सेमिफाइनल प्रवेशका लागि उसले एक गोलले पछाडि रहेको स्थितिबाट स्पेनलाई पराजित गरेको थियो । फिफा वरीयतामा अमेरिकापछि स्विडेन दोस्रो स्थानमा छ र यो युरो २०२२ मा सबैभन्दा उच्च स्थानको टिम हो । उसले भने सेमिफाइनल प्रवेशका लागि बेल्जियमलाई इन्ज्युरी समयको गोलले हराएको थियो । यो खेल सेफिल्ड युनाइटेडको मैदान ब्रामल लेनमा हुनेछ ।
यी दुई टिमको अहिलेसम्मको खेलमा इंग्ल्यान्ड अविश्वसीय रूपमा पछाडि छ । दुई टिमबीच अहिलेसम्म भएका २६ खेलमध्ये इंग्ल्यान्ड खालि तीनमा मात्र विजयी रहेको छ र १५ पल्ट पराजित रहेको छ । इंग्ल्यान्ड समर्थकका लागि यो स्तब्धपूर्ण तथ्य रहेको छैन् र ? इंग्ल्यान्ड जर्मनीविरुद्ध सर्वाधिक २१ पल्ट पराजित रहेको छ । त्यसपछि उसको उत्तिकै खराव प्रदर्शन भनेको स्विडेनविरुद्ध नै हो । युराकै मात्र कुरा गर्दा पनि अहिलेसम्मका सात भेटमा इंग्ल्यान्ड एकै पल्ट मात्र विजयी रहेको छ ।

स्विडेनले युरो जितेको त एकै पल्ट मात्र हो, तर सन् १९८७, १९९५ र २००१ को उप विजेता पनि यही टिम रहेको छ । इतिहासले जस्तै भने पनि अहिले तत्कालका लागि इंग्ल्यान्ड लयमा छ र उसको खेल हेर्नका लागि ब्रामलमा ३२ हजार दर्शकले भरिभराउ रहनेछन् । यसले देखाउँछ, प्रतियोगिता आफैमा इंग्लिस भूमिमा सफल रहेको छ । लन्डनमा फन पार्क पनि स्थापना गरिएको छ र त्यहाँ मात्र पनि १५ हजार समर्थक आउने विश्वास गरिएको छ ।
इंग्ल्यान्डले अहिलेसम्म प्रतियोगितामा खेलेका चार खेलमध्ये सबैमा सुरुआती ११ खेलाडी समान रहेको छ र यो नै प्रतियोगिताको एक मात्र टिम हो, जसले यस्तो विश्वास देखाएको छ । इंग्लिस टिमको सबैभन्दा ठूलो शक्तिका रूपमा प्रशिक्षक सरिना वेगमन रहेकी छिन् । सम्भवत: स्विडेनविरुद्धको खेलका लागि उनले सुरुआती ११ खेलाडीमा परिवर्तन गर्न सक्छिन् । स्विडेन गत ओलम्पिक्सको रजत पदक विजेता हो भने सन् २०१९ को विश्वकपमा इंग्ल्यान्ड झै सेमिफाइनल पुगेको थियो ।
सेमिफाइनललाई लिएर इंग्ल्यान्डकी फरवार्ड फ्रान किरबेले भनेकी छिन्, ‘सबैलाई हामीलाई स्याबासी दिइरहेका छन् र हाम्रोबाट राम्रो प्रदर्शनका आश गरिरहेका छन् । हामीले आजको खेल जितेर फाइनल प्रवेश गर्न सक्यौं तिनै समर्थकका लागि यो खुसी दिने अवसर हुनेछ । हामी जित्न पनि चाहन्छौ र आफ्ना समर्थकको मुखमा हाँसो ल्याउन चाहन्छौं ।’ स्विडेनकी फरवार्ड कोसोभारे एसलानीको भनाइ भने यस्तो छ, ‘दुवै टिमले सेमिफाइनलमा आक्रामक फुटबल खेल्नेछ र यो हाम्रो लागि उपयुक्त पनि छ ।’
–एएफपीको सहयोगमा ।