भुवनेश्वर । नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्धको जित खेलाडीहरुले गरेको मेहेनतको नतिजा भएको बताएका छन् ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार माल्दिभ्सविरुद्धको प्रभावशाली जितपछि पत्रकार सम्मेलनमा बोल्दै केसीले माल्दिभ्सले पनि राम्रो खेलेको तर उमेर समूहमा नेपाली टोलीको इतिहास पनि रवाफिलो रहेको प्रतिक्रिया दिए।
'यो टोलीले पछिल्लो समय अत्यन्तै मेहनत गरेको छ । टोलीमा धेरै खेलाडी छन् जसले यस्तो मैदान र पिच पहिलो पटक देखेका छन् । तर, टिमवर्क यति उत्कृष्ट रह्यो कि सबैले आक्रामक भएर खेले,' प्रशिक्षक केसीले भने ।
माल्दिभ्समाथिको जितले नेपाललाई साफको उपाधि दाबेदार बनाएको छ त भन्ने प्रश्नमा केसीले सबै टोलीलाई सम्मान दिनुपर्नेमा बताए ।
'हामीले अहिले उपाधितिर ध्यान दिएका छैनौं । हाम्रो लागि आगामी खेल महत्वपूर्ण हो । हामीले त्यतातिर मात्र सोच्ने छौँ,' केसीले भने ।
नेपाली टोलीले कप्तान आयुष घलानलाई जन्मदिनमा राम्रो उपहार दिएको समेत प्रशिक्षक केसीले बताए ।
'आजै कप्तान आयुष घलान १९ वर्ष पुगेका छन् । आज उनको जन्मदिनमा टोलीले उनलाई राम्रो उपहार दिएको छ । यद्यपि हामी उनको जन्मदिनलाई १० दिन पछि मनाउने छौँ,' उनले थपे ।
प्रशिक्षक केसीले माल्दिभ्सविरुद्ध व्यक्तिगत भन्दा नेपाल टिमकै प्रदर्शन उत्कृष्ट रहेको बताए । 'मेरो लागि टोली महत्वपूर्ण छ । एकजना खेलाडी भन्न म उपयुक्त ठान्दिन,' प्रशिक्षक केसीले भने ।
माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले आफ्नो टोलीले राम्रो प्रदर्शन नगरेको स्वीकार गरे । 'नेपालले हामी भन्दा धेरै राम्रो खेल्यो । बधाई छ नेपाललाई । हामी हरेक पाटोमा कमजोर रह्यौं । पाएका केही अवसर पनि सदुपयोग भएन,' उनले भने, 'अर्को खेलमा हामी कमजोरी सच्याउँदै राम्रो नतिजा निकाल्ने छौँ ।'