काठमाडौं । क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर एउटा नयाँ तथ्य बाहिर आएको छ । बेलायती मिडियालाई मान्ने हो भने म्यानचेस्टर युनाइटेड आफ्ना पोर्चुगाली स्टार खेलाडीलाई छाड्न तयार भएको छ । तर यसका लागि क्लबले नयाँ सर्त तेर्साएको छ र त्यो हो, रोनाल्डोले ऋणमा मात्र क्लब छाड्न पाउने छ ।
त्यसका लागि पनि उनले क्लबसँगको अनुबन्ध थप्नु पर्नेछ । रोनाल्डोले म्यानचेस्टरसँग सन् २०२४ सम्मका लागि अनुबन्ध गरेका छन् । तर उनी नयाँ सिजन अगाडि नै अन्यत्र जान चाहन्छन् । रोनाल्डोको एक मात्र इच्छा हो, युरोपेली च्याम्पियन्स लिग खेल्ने । म्यानचेस्टर यस प्रतियोगिताका लागि छनोट नभएको हुनाले रोनाल्डोको नजर अन्यत्र गएको हो ।
क्लब सूत्रलाई उदृत गर्दै बेलायती मिडियाले के लेख्छन् भने सम्भवत: म्यानचेस्टरलाई आफू अर्को सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुने विश्वास छ । कम्तीमा प्रशिक्षक एरिक टेन हागले यस्तै भनेका छन् । त्यसको अर्थ अर्को सिजन म्यानचेस्टरले च्याम्पियन्स लिग खेल्दा रोनाल्डो आफूसँग होस भन्ने चाहना हो ।
त्यसका लागि म्यानचेस्टरले अबको सिजन इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा स्थान बनाउनु पर्नेछ । रोनाल्डोको नयाँ गन्तब्ध एटलेटिको म्याड्रिड मानिएको छ । तर स्वंय एटलेटिकोका समर्थक रोनाल्डो आओस भन्न चाहँदैन् र अहिले सामाजिक संजालमा उसका समर्थकले रोनाल्डोविरुद्ध अभियान जस्तै चलाएका छन् । उनीहरू भन्छन्, ‘रियल म्याड्रिडका लागि खेलिसकेका खेलाडीले कसरी हाम्रो लागि खेल्न सक्छन् ?’
–मार्काको सहयोगमा ।