भुवनेश्वर । साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले भोलि माल्दिभ्सको सामना गर्दैछ ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने छन् । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।
प्रतियोगिता अघिको प्रि- म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले जित सहित सुरुआत गर्ने दाबी गरेका छन् ।
खेल अघि दुवै टोली राम्रो अवस्थामा छन् । उमेर समूहमा दक्षिण एसियाली क्षेत्रमा सबै टोलीको स्तर एउटै भएपनि बिगतमा निकालेको नतिजा अनुसार नेपाली टोलीलाई फाइनलको दाबेदार मानिएको छ ।
तर, पछिल्लो समय युवा टोलीमा गरेको लगानी र तयारी हेर्ने हो भने माल्दिभ्सको टोली नेपालविरूद्ध ३ अंक हासिल गर्न योग्य रहेको कुरा पत्रकार सम्मेलनमा उनीहरुले देखाएको आत्मविश्वासबाट झल्कन्छ ।
यता, नेपाली टोलीले बिगतमा बलिया टोलीको चुनौती पन्छाउँदै यस प्रतियोगिताको तत्कालीन संस्करण (साफ यु - १८) को उपाधि जितिसकेको छ । त्यसैले उद्घाटन खेल निकै महत्वपूर्ण रहेको छ ।
'करिब २ वर्ष भन्दा बढी समयपछि साफमा उमेर समूहमा प्रतिस्पर्धा भइरहेको छ । त्यसैले हामीले अन्य टोलीको बारेमा त्यति जानकारी पाएका छैनौँ । हाम्रो टोलीले राम्रो तयारी गरेको छ । टोलीमा मेहनती खेलाडी छन् । हामिले गरेको तयारी र मेहनत अनुसार हामी यस प्रतियोगिताको उपाधि दाबेदार नै हौँ,' नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसी पत्रकार सम्मेलनमा विश्वस्त देखिए ।
'यहाँको वातावरण र भुवनेश्वरले पाहुनालाई गरेको सत्कारले हामीमा उर्जा थपेको छ,' प्रशिक्षक केसीले भने, 'यसले सकरात्मक बनाउन मद्दत गर्छ । कुनैपनि प्रतियोगितामा हार, जित र नतिजा महत्वपूर्ण हो यसमा नेपाली टोली हर सम्भव प्रयास गर्नेछ ।'
प्रशिक्षक केसीले साफका युवा टोलीको स्तर समान रहेको प्रतिक्रिया दिए । लामो समयपछि उमेर समूहमा प्रतिस्पर्धा गर्दा यस क्षेत्रमा युवा फुटबलको विकास राम्रोसँग हुने उनको विश्वास थियो ।
नेपाली टोलीका कप्तान आयुस घलानले अरु कुरामा भन्दा पनि अहिले माल्दिभ्सविरुद्ध ३ अंक कसरी लिने भन्नेमा नै आफ्नो टोली केन्द्रित रहेको बताए ।
नेपाली सिनियर टोलीका महत्वपूर्ण सदस्य घलानले ३ अंक हासिल गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
'हामी गोर्खाली हौँ । हामीले अन्तिमसम्म लड्न जानेका छौँ । टिमले कडा मेहनत र तयारी गरेको छ । मलाई विश्वास छ हामी ३ अंक लिएर जित सहित सुरुआत गर्नेछौँ,' घलानले भने।
घलानले टिम राम्रो अवस्थामा रहेको र भुवनेश्वरमा बेला बेलामा पानी परेर टोलीलाई केही राहत मिलेको बताए ।
माल्दिभ्स पनि नेपालसँग सतर्क छ । उनीहरुलाई विश्वास छ पछिल्लो समय कुनै देशको युवा टोलीलाई एक अर्काको हैसियत मापन गर्ने अवसर मिलेको छैन । त्यसैले ९० मिनेटमा के हुन्छ त्यो त्यहीबेला थाहा हुन्छ ।
माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको बताए ।
'एउटा प्रशिक्षकको रुपमा त्यस्तो टोलीविरुद्ध खेल्नु कठिन हुन्छ जसको कुनै खेलको बारेमा अहिलेसम्म थाहा छैन । हाम्रो अधिकांश खेलाडीहरु माल्दिभ्सको प्रिमियर लिगमा खेलिरहेका छन् । फिटनेसको हिसाबमा हामी अब्बल छौँ । किनकी खेलाडी लगातार खेलिरहेका छन् । हामिसँग भएको समय र स्रोतको हिसाबले तयारी राम्रो छ । हामी राम्रो गर्न सक्छौँ,' उनले भने ।