काठमाडौं । युरो २०२२ को तेस्रो क्वाटरफाइनल खेल आज राति पौने एक बजे हुनेछ र भिड्दै छन्, स्विडेन र बेल्जियम । केही सुस्त सुरुआतपछि स्विडेन पछिल्लो समय लय समाट्न सफल रहेको छ ।
शीर्ष स्थानमा रहेर समूह ‘सी’ जित्नका लागि उसले पोर्चुगललाई आफ्नो अन्तिम लिग खेलमा ५–० ले हराएको थियो । अपराजित स्विडेनले तीन खेलबाट सात अंक बटुलेको थियो ।
गोल अन्तरले उसले नेदरयान्ड्सलाई समूहमा पछाडि छाडेको थियो । सम्भवत: स्विडेनका लागि अरूको तुलनामा सेमिफाइनल यात्रा सबैभन्दा सजिलो हुन सक्नेछ ।
स्विडेन ओलम्पिकको रजत पदक विजेता टिम हो र उसले बेल्जियमलाई हराउन धेरै मिहिनेत गर्नु पर्ने छैन् । बेल्जियम आफै भने पहिलो पल्ट कुनै महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
तर बेल्जियम आफै पनि प्रशिक्षक इभेस सेरनिलको नेतृत्वमा निकै सुधार गरेको टिम हो । समूह चरणमा फ्रान्सविरुद्ध बलियो चुनौती पेस गरेको बेल्जियमले पछि इटालीलाई हराएको थियो ।
बेल्जियम समूह ‘डी’ मा फ्रान्सपछि दोस्रो स्थानमा रहेको थियो । उसको तीन खेलबाट चार अंक रहेको थियो । त्यसैले उसका लागि नकआउट चरण पुग्नु पनि भाग्यको उपलब्धी थियो ।
–एएफपीको सहयोगमा ।