काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।
कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो ।
मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो ।
'यस अवार्डबाट सम्मानित हुन पाउदा ज्यादै नै खुशी लागेको छ,' अवार्ड पाएपछि मानेले भने,'म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु । यो ट्रफी म युवा र देशलाई डेडिकेट गर्न चाहन्छु ।'
३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एड्वार्ड मेन्डी र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । यस अघि उनले २०१९ मा यस अवार्ड जितेका थिए ।
मानेले यसै वर्ष सेनेगललाई अफ्रिकन कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।
सेनेगलले फाइनलमा इजिप्टलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दा मानेले विजयी पेनाल्टी गोल गरेका थिए।
