काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि फरवार्ड रोहित सुब्बालाई टिममा डाकिएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाईएको जानकारी गराए ।
फरवार्ड दिपेश राईले चोटको कारण साफ गुमाउने भएपछि उनको स्थानमा रोहितलाई टिममा बोलाईएको हो ।
मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् । रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए ।
दिपेशले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको मैत्रीपूर्ण खेल दौरान चोट बोकेका थिए । उनले दाहिने खुट्टाको एन्कलमा चोट बोकेका थिए ।
दिपेश कम्तिमा ३ महिना मैदान बाहिर रहने छन् ।
नेपाली टोलीको कप्तानी आयुष घलानले गर्ने छन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् ।
प्रतियोगिताका लागि नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरःअमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी