काठमाडौं । पाहुना टोली बंगलादेशविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली वेस्ट इन्डिजले जित निकालेको छ ।
डोमेनिकामा आइतबार राति भएको खेलमा वेस्ट इन्डिज ३५ रनले विजयी भएको हो ।
यससँगै ३ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण प्रभावित बनेको थियो ।
वेस्ट इन्डिजले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाहुना टोली १ सय ५८ रनमा समेटिन पुग्यो । निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा बंगलादेश १ सय ५८ रनमा सिमित बन्दा पराजित हुन पुग्यो ।
उसका लागि सकिब अल हसनले ५२ बलमा ६८ रनको अर्धशतकिय ईनिङ खेले । अफिफ हसनले ३४ रन बनाए ।
वेस्ट इन्डिजका ओवेड मेकोई र रोमारियो सेफर्डले समान २/२ तथा ओडन स्मिथ र अकिल हुसेनले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका रोभमेन पावेलले अविजित रहदै ३८ बलमा ६१ रन बनाएका थिए । ब्रान्डन किंग्सले ५७ रन जोडे ।
बंगलादेशका सोरिफुल इस्लामले २ विकेट लिए । मोसडिएक हसन,साकिव अल हसन र मेहिदि हसनको नाममा १/१ विकेट रह्यो ।
दुई टोलीबीचको तेस्रो टी ट्वान्टी अन्तराष्ट्रिय आगामी बिहीबार हुनेछ ।