काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि आइतबार दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्ने जनाएको छ ।
क्यानले दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुने जनाएको छ ।
शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध पहिलो अभ्यास खेल खेलेको थियो । एकदिवसीय फर्म्याटमा भएको उक्त खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलिरहेको हो ।
नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।