काठमाडौं । एउटा खेलाडी हरेक समय उत्कृष्ट लयमा रहदैन । विराट कोहली यसको पछिल्लो उदाहरण बनेका छन् ।
भारतीय राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान कोहलीको खराब लय जारी छ । इंग्ल्याण्डविरुद्ध जारी टेस्ट खेलको पहिलो पारीमा कोहली १९ बलमा ११ रन बनाएर पेभिलियन फर्किएका छन् ।
तीन वर्षदेखि विराटको लगातार असफलताको निरन्तरता चलिरहेको छ । उनले २३ नोभेम्बर २०१९ मा बंगलादेशविरुद्धको टेस्टमा शतक बनाएको शतक नै पछिल्लो हो ।
त्यसयता उनले क्रिकेटको कुनै पनि फर्म्याटमा शतक बनाएका छैनन् । विराटको ब्याटबाट शतक प्रहार हुन नसकेको पूरा ९ सय ५३ दिन भयो ।
यस्तो अवस्थामा के क्रिकेटरको रुपमा विराट कोहली करियर धरापमा जादैछ त ?
विराटले आफ्नो पछिल्लो शतक यता १८ टेस्ट खेलेका छन् । उनले यसक्रममा ३१ इनिङ ब्याटिङ गर्दा मात्र २७.४८ को औसत रहेको छ ।
भारतका सिनियर ब्याट्सम्यानमा पछिल्ला वर्षहरुमा उनीभन्दा अजिन्का रहाणे (२४.०८) र चेतेश्वर पुजारा (२५.९४)को औसत मात्र खराब छ । जसका कारण पुजारा र रहाणे दुवै टिमबाट बाहिरिएका थिए । तर, पुजारा राम्रो काउन्टी सिजनका कारण टिममा फर्किएका छन् । रहाणे अझै टिम बाहिर रहेका छन् ।
अर्कोतर्फ, यो अवधिमा विराटभन्दा राम्रो खेल देखाउने धेरै खेलाडी छन् । ऋषभ पन्तको टोलीमा स्थानलाई लिएर प्रायः प्रश्न उठ्ने गर्छ ।
तर, विराटको पछिल्लो शतकदेखि पन्त भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सबैभन्दा शीर्ष स्थानमा रहेका छन् ।
भारतीय टोलीमा स्थान बनाउन ब्याट्सम्यानबीच तीव्र प्रतिस्पर्धा छ । यस्तो अवस्थामा विराट लगातार 'फ्लप' भएपनि आफ्नो ठाउँ कहिलेसम्म बचाउन सक्लान् ।