काठमाडौं । मतदान अघिसम्म एन्फा निर्वाचनमा कसको पल्लाभारी पर्छ भनेर भन्न सकिने अवस्था थिएन । दुवै समूह उत्तिकै आत्मविश्वासी देखिन्थे । दुवैले ४६ बढी मत ल्याउने दाबी गरेका थिए । निर्वाचनको पूर्व सन्ध्यामा पंकजबिक्रम नेम्वाङ समूहले ४६ बढी मताधिकार प्राप्त सदस्यको तस्विरनै सार्वजनिक गरेको थियो । अन्तिममा निर्वाचनको परिणामले नेम्वाङको दाबीलाई सत्य सावित गर्यो । कर्माछिरिङ शेर्पाको चार वर्षको नेतृत्वलाई बिदा गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका छन् ।
जितमा हरेक गल्ती माफ हुन्छन्, हारमा धेरै कारण खोजिन्छन् । चुनाव जितेका नेम्वाङ एन्फाको ‘ड्राइभिङ सिट’मा अघि बढिसकेका छन् । हार चाखेका कर्मा फुटबलको ‘ट्रेन’बाट ओर्लिएका छन् । उनीसँग अब पराजयका कारणहरु खोज्ने प्रशस्त समय छ । फुटबलको बाँकी जीवन उनी यिनै कारण खोजेरै बिताउनेछन् । चुनावी परिणाम लगत्तै उनले भने, ‘फुटबलबाट टाढा हुन्न्, तर खराब राजनीतिबाट टाढा हुन्छु ।’ सबैलाई थाहा छ, उनको प्रस्टसँग यसको संकेत पूर्व अध्यक्ष गणेश थापालाई गरेका हुन् । थापाको २० वर्षको एन्फा विरासतलाई ढाल्दै फुटबलमा उदाएका शेर्पालाई पछिल्लो चार वर्ष सजिलो रहेन । चार वर्षे कार्यकालमा विभिन्न विवाद सिर्जना गरेर शेर्पामाथि समस्या खडा गर्नेदेखि यस चुनावमा समेत हराउन थापाले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गरे । एन्फा चुनावसँगै थापाले शेर्पासँग राजनीतिक बदला लिन सफल भएका छन् ।
तर गणेश थापाको कारणले मात्र शेर्पाले चुनाव भने हारेका हैनन् ।
चुनावी नतिजाको प्रारम्भिक निष्कर्ष निकाल्दै शेर्पाले भने, ‘राज्य लागेपछि नसकिने रहेछ । अर्थात राज्य सत्ताको प्रमुख स्रोत बालुवाटारले अन्तिम समयमा चुनावलाई प्रभावित बनायो ।’ 'प्रधानमन्त्री निवास बालुवाटारबाट विभागीय क्लबलाई दबाब दिईयो र आफुलाई सकारात्मक रहेका मतदातालाई प्रभावित बनाईयो । अर्को कुरा अपेक्षा गरेका एन्फा संघका अधिकांश भोट आएनन् ।' शेर्पाले चुनावमा पराजित हुनुमा यि दुई मुख्य कारण रहेको मानेका छन् ।
तर एन्फा चुनावको पहेली केलाउँदा शेर्पा आफ्नै कारणले चुनावमा पराजित भएको देखिन्छ । विगत चार वर्ष कार्यसमितिमा पंकजबिक्रम नेम्वाङ र दावा लामाको मात्र विरोध झेलेका शेर्पाले अन्तिम समयमा सत्तानै नेम्वाङलाई सुम्पिनु पर्यो । विगत चार वर्ष एन्फामा एक्लै चुनावी तयारी गरेका नेम्वाङसँग दावा लामा बाहेक साथमा कोही थिएनन् । तर शेर्पाले आफ्नै स्वभावगत कमजोरका कारण नेम्वाङलाई बलियो बनाईदिए । एन्फा राजनीतिमा शेर्पा ओरालो लाग्ने मुख्य तीन घटनालाई उदाहरणको रुपमा यहाँ पेश गर्दछु ।
एन्फाभित्रको राजनीतिक शक्ति संघर्षमा प्रशिक्षकलाई घुसाउनु शेर्पाको मुख्य कमजोरी रह्यो । पहिलो प्रहार उनले नेम्वाङमाथि गरेका थिए । आफुसँग सत्ता संघर्षमा रहेका नेम्वाङलाई कमजोर बनाउन र राजनीतिक रुपमा समाप्त गर्न शेर्पाले अलमुताइरी अस्त्र प्रयोग गरे । प्रशिक्षकले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउँदै देश छाड्ने घोषणा गरेपछि तत्कालिन राजनीतिक फाईदा त शेर्पाले उठाए, तर त्यसको दिर्घकालिन असर शेर्पाको राजनीतिलाई गर्यो । टिम व्यवस्थापकको जिम्मेवारी पाएका शेर्पाका खास मधुशुदन उपाध्यायले यसलाई रोक्न सक्थे वा टाढा राख्न सक्थे । तर उनले यसमा सेतुको काम गरे । नेतृत्वको वरपर असक्षम र ‘नालायक’ पात्र रहेपछि राजनीति कसरी डुब्छ भन्ने एउटा राम्रो उदाहरण यो पनि बन्न सक्छ । नेम्वाङलाई विवादमा तान्न सो घटना पर्याप्त रहेपनि त्यसले शेर्पाको छवि ध्वस्त बनाउन निकै सहयोग पुर्यायो ।
फुटबलमा व्यवसायीकता ल्याउने लक्ष्य सहित सूरु भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को विवाद शेर्पालाई लागि अभिशापनै बन्यो । दोस्रो संस्करण सुरु हुदै गर्दा एनएलएल र ए डिभिजनका ठुला क्लबबीच विवाद देखियो । विवाद सामान्य थियो, क्लबमा आबद्ध खेलाडीलाई एनएसएलले आफुखुसी अनुबन्ध गर्यो । मोफसल खेल्ने समय एनएसएलको मिति दिएर क्लबलाई आर्थिक रुपमा नोक्सान पुर्याउने काम एन्फाले गर्यो । सुरुवातमा अधिकांश ए डिभिजनका क्लब आन्दोलनमा उत्रिएका थिए । आन्तरिक छलफल गरेर शेर्पाले विवाद मिलाउने त प्रयास गरे । तर ठुला चार क्लबलाई उनले मनाउन सकेनन् । विवाद बढ्दै गर्दा उनले समाधानको तत्परता देखाएनन् । समस्यामा ‘इन्जोए’ गर्ने बानी उनमा पर्न थालेको थियो । हुन्छ, मिल्छ भन्दै उनले क्लबलाई अड्काउने र बिच्काउने काम गरेका थिए । उनले अग्रसरता लिएरै विवाद समाधान गर्न सक्थे, अथवा चुनावपछि एनएसएलको मिति दिन सक्थे ।
आत्मविश्वासले भरिएका शेर्पाले न विवादको गहिराई देखे, न समाधानको प्रयास गरे । बरु एनएसएलकै कारण मनाङ, थ्री स्टार, एनआरटी लगायतका क्लबसँग उनको दुरी बढ्यो । एन्फा चुनावमा तीनै वटा क्लब विपक्षमा रहे । मिलाउने भन्दा विचार नमिल्नेलाई समाप्त गर्ने नेतृत्वको सोचनै कर्माका लागि प्रतियुत्पादक रह्यो ।
चुनावको मुखमा खेलाडी र प्रशिक्षक विवाद शेर्पा पराजयको मुख्य कारण हो । एन्फा राजनीतिको ८५ भोटमा बाहिरको कुनै कुराले प्रभावित नगर्ने दृढ विश्वास शेर्पामा देखिन्थ्यो । तर चुनावको मुखमा शेर्पाको चुनावी माहोल बिगार्न खेलाडी विवाद पर्याप्त रह्यो । खेलाडी विवादको मुद्धालाई विपक्षीले चुनावी एजेण्डा मात्र बनाएनन्, राजनीतिक रुपमा समेत सक्दो फाइदा उठाए । वरिष्ठ उपाध्यक्ष जितेका वीरबहादुर खड्काले आफु खेलाडीको उम्मेदवार नै रहेको भनि प्रचार गर्न भ्याएका थिए । शेर्पाले दाबी गरे जस्तो चुनावमा खेलाडीको धेरै मत थिएन तर उनीहरुले जनमतको बनाउन सक्थे, बिगार्न सक्थे । एन्फा निर्वाचनको धेरै मत खेलाडीका कारण प्रभावित बनेका छन् । उनीहरुको मुद्धा जिल्ला, क्लब र संघमा शेर्पाविरुद्ध चुनावी माहोल बनाउन पर्याप्त बन्यो । खेलाडीको विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई व्यवस्थापन र नेतृत्वको हिसाबले नियन्त्रणमा राख्न नसक्नु शेर्पाको मुख्य कमजोरी रह्यो । खेलाडीको अघि प्रशिक्षकलाई राख्न नसक्ने लाचारी प्रकट गर्ने अध्यक्षबाट खेलाडीहरु बिच्किएका थिए । गणेश थापालाई हराएर एन्फा नेतृत्वमा आएपछि फुटबलको शक्तिशाली पात्रको रुपमा देखिएका शेर्पा खेलाडीसँग ‘टसल’ लिन खोज्दा सत्ताबाट हात धुन परेको छ । तत्कालिन नेपाली सेनाका प्रधानसेनापती रुक्माङ्गत कटवालसँग ‘टसल’ लिदाँ तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट हात धुनुपरे जस्तै फुटबलका एक शक्तिशाली पात्र बनेको शेर्पा खेलाडीसँगको विवादले एन्फाबाट बाहिरिनु परेको छ ।
हुन त सत्ताको मात लागेपछि ब्यक्ति अन्धो हुन्छ भन्छन् । शेर्पालाई समेत पछिल्लो समय फुटबलमा सबैलाई खेलाउन सकिन्छ, जित्न सकिन्छ भन्ने लाग्न थालेको थियो । आफुनै एन्फा र एन्फानै आफु हो कि भन्ने पर्न लागेको थियो । पछिल्लो समय उनी क्रियात्मक भन्दा प्रतिक्रियात्मक हुन थालेका थिए । छलफल, संवाद र सहकार्यमा विश्वास उड्न थालेको थियो । फुटबलमा आफु ‘अजयी’ रहेको भान उनमा देखिन्थ्यो । यिनै स्वभावगत कमजोरीका कारण विगत चार वर्ष फुटबलमा उनले गरेका काम र ‘खटन’ फिक्का रहे । एन्फाको संस्थागत सुधारदेखि मैदानभित्र उनले गरेका मेहनतको मुल्याङ्कन भएन । ‘कुनै हालतमा, कुनै मुल्य’मा समयलाई आफु अनुकुल ढाल्न सकिन्छ भन्ने उनको विश्वास फेल खान पुग्यो । अघिल्लो पटक सबैलाई एक जुट पारेर गणेश थापालाई शेर्पाले ढाल्न सकेका थिए । यसपटक थापाले सबैलाई एकिकृत गर्दै शेर्पासँग राजनीतिक रुपमा बदला लिन सफल रहे ।
एन्फाभित्रको संरचनागत सुधार, मैदानमा देखिएका नतिजा, कार्यसम्पादनमा उनको दृढ इच्छाशक्ति, दिन रात नभनी खट्न सक्ने एउटा फुटबलको नेताको रुपमा कर्माले पछिल्लो चार वर्ष दुखनै गरेका छन् । एन्फाको नयाँ नेतृत्वका लागि शेर्पाले नेपाली फुटबलमा एउटा ‘मानक’ छाडेर गएका छन् । त्यो पार गर्न नयाँ नेतृत्वलाई सहज भने छैन ।