काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
सिजनको सुखद अन्त्य गर्ने क्रममा डर्टमण्डले शनिबार राति हेर्था बर्लिनलाई २-१ गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा एर्लिङ हालाण्ड र युसुफा मोउकोकोले एक एक गोल गरे ।
हेर्था बर्लिनका इशाक बेल्फोडिलले एक गोल फर्काए ।
खेलमा सुरुआती अग्रता भने हेर्थाले बनाएको थियो ।
खेलको १८ औं मिनेटमा इशाकले गोल गर्दै हेर्थालाई अग्रता दिलाएका थिए ।
तर, ६८ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
हालाण्डले डर्टमण्डका लागि अन्तिम खेलमा गोल गरेका हुन् । डर्टमण्डका लागि अन्तिम खेल खेलिरहेका उनी इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भईसकेका छन् ।
हालाण्डले डर्टमण्डका लागि ८९ खेलमा ८६ गोल गरे ।

त्यसपछि खेलको ८४ औं मिनेटमा युसुफाले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
यस जितसँगै डर्टमण्डले ३४ खेलमा ६९ अंक जोड्यो ।
डर्टमण्डले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
हेर्था ३४ खेलमा ३३ अंक जोडेर १६ औं स्थानमा रह्यो ।
