काठमाडौं । एएफसी एसियन कप-२०२३ चीनमा आयोजना नहुने भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार चीनले आयोजकबाट नाम फिर्ता लिएको जनाएको छ ।
कोभिड-१९ को महामारीको कारण देखाएर चाईनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एएफसीले जनाएको छ ।
एएफसीले नयाँ आयोजक राष्ट्रको नाम चाडैं घोषणा गरिने जनाएको छ ।
एएफसीले २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो ।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।