एजेन्सी । रियल मड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटीले क्रिस्टियानो रोनाल्डोको बहिर्गमनले करिम बेन्जिमालाई पूर्ण खेलाडी बन्न सहयोग पुगेको बताएका छन् ।
एन्सेलोटीले सन् २०१८ मा मड्रिडबाट रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई पूर्ण खेलाडी बन्न सहयोग पुगेको विश्वास ब्यक्त गर्छन् ।
बेन्जिमाले यस सिजन ४१ गोल गरेका छन् । उनले रियल मड्रिडलाई ३५ औं लिग उपाधि जिताएका छन् भने १४ औं पटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुर्याएका छन् ।
बेन्जिमा बर्नबेउमा करियरको उत्कृष्ट सिजन बिताईरहेका छन् ।

फ्रान्सेली फरवार्डले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ र क्वार्टरफाईनलमा पीएसजी र चेल्सीविरुद्ध ह्याट्रिक गरे । उनले सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा समेत निर्णायक भुमिका खेले ।
इतिहादमा भएको पहिलो लेगमा बेन्जिमाले दुई गोल गरेका थिए । दोस्रो लेगको अतिरिक्त समयमा बेन्जिमाको पेनाल्टी गोलमै मड्रिड क्लबले सिटीलाई ६–५ गोल अन्तरले हराएको थियो ।
पछिल्लो हप्ता लिग उपाधि जितेर च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएका बेन्जिमा यस वर्षको बालेन डि ओरका मुख्य दाबेदार देखिएका छन् ।
एन्सेलोटीले भनेका छन्, ‘मलाई बेन्जिमालाई केवल सेन्टर फरवार्डको रुपमा भन्न कठिन भैरहेको छ । किनकी उनी शानदार खेलाडी हुन् । जो मेरो अगाडी खेलिरहेका छन् ।’
‘उनी सर्वाधिक गोलकर्ता मात्र हैनन् । उनले प्रशस्त गोलको सहयोग गरिरहेका छन् ।’ एन्सेलोटीले भने, ‘उनी हाम्रा लागि पूर्ण खेलाडी हुन् । उनी निकै महत्वपुर्ण खेलाडी हुन् । उनले प्रशस्त गोल गरेका छन् ।’
‘उनी शीर्ष खेलाडी हुन् । मलाई लाग्छ, उनी अहिलेका उत्कृष्ट खेलाडी हुन् ।’ उनले थपे ।
एन्सेलोटी दोस्रो पटक रियलको कमान्ड सम्हाल्न यसै सिजन रियल आएका हुन् । उनी रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई नेतृत्वको रुपमा विकास गर्न सहयोग पुगेको धारणा राख्छन् ।
‘मलाई लाग्छ, रोनाल्डो गएपछि बेन्जिमामा नेतृत्वको विकास भएको छ । किनकी त्यो समय रोनाल्डोमा धेरै जिम्मेवारी थियो ।’ एन्सेलोटीले भने ।
‘रोनाल्डो यस्ता खेलाडी थिए, जो एक सिजनमा ५० गोल गर्थे । उनी बिना मड्रिडमा गोल गर्न निकै कठिन थियो ।’ उनले थपे ।
‘करिमले यो जिम्मेवारी लिए र टिमका लागि महत्वपुर्ण खेलाडी बने । तर यस टिममा धेरै नेतृत्व गर्ने खेलाडी छन् ।’ एन्सेलोटी भन्छन् ।