काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ ।
फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
रोमान्चक खेलको छैटौं मिनेटमा निकोला बरेलाले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ५० औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५२ औं मिनेटमा डुसन भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा हाकनले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इन्टरका इभान पेरिसिच चम्किए ।
खेलको ९९ औं मिनेटमा इभानले पेनाल्टीमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि १०२ औं मिनेटमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४-२ को जित दिलाए ।
इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।