काठमाडौं । म्यानचेस्टर युनाइटेडको पतनको सिलसिल कतिसम्म पुगेको छ भन्ने तथ्यको एउटा राम्रो उदाहरण यो पक्कै हुन सक्छ, त्यो पनि मैदान बाहिरको । भएको के हो भन्दा म्यानचेस्टरका लेजेन्डरी खेलाडी रहेको रिओ फर्डिनान्डले सोमबार मात्रै क्लबका पूर्व व्यवस्थापक जोसे मोउरिन्होसँग माफि मागे, अझ त्यो पनि सन् २०१९ को एउटा भनाइका लागि । यसका लागि हामी त्यही वर्षको सेरोफेरोमा फकर्नु पर्ने हुन्छ, जति बेला म्यानचेस्टरले इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थान हात पारेको थियो ।
सन् २०१७–२०१९ को सिजनको अन्त्यमा म्यानचेस्टर दोस्रो स्थानमा रह्यो । त्यो सिजन म्यानचेस्टर सिटी ठ्याक्कै सय अंकमा लिग च्याम्पियन हुन सफल रह्यो । त्यस पछाडि म्यानचेस्टरको ८१ अंक थियो । त्यसको पनि पछाडि टोटनहमको ७७, लिभरपुलको ७५ र चेल्सीको ७० अंक भएको थियो । त्यो सिजन म्यानचेस्टरले यिनै पोर्चुगाली प्रशिक्षक मोउरिन्होको नेतृत्वमा खेलेको थियो । पछि यही सिजनलाई लिएर चर्चा गर्ने क्रममा मोउरिन्होले आफ्नो एक खास धारणा अगाडि सारेको थियो ।

उनी भन्थे, ‘यो मेरो प्रशिक्षक जीवनकै सबैभन्दा उत्कृष्ट सफलता हो ।’ त्यति बेलासम्म पनि उनी म्यानचेस्टरको वर्खास्तीमा परिसकेका थिए । उनले यस्तो के भने उनलाई चारैतर्फबाट आक्रमण सुरु भयो । आखिरमा मोउरिन्होले प्रिमियर लिग मात्र होइन्, स्पेनी ला लिगा पनि जिते, इटालीको सिरी ए पनि जिते । अझ त्यति मात्र नरहेर उनले युरोपेली च्याम्पियन्स लिग पनि जिते । तर उनी मानिरहेका थिए, त्यो ठूलो स्थान नै आफैमा ठूलो हो ।
सरसरी हेर्दा मोउरिन्होलाई यो भनाइमा त्यही बेला उडाउन पनि आवश्यक थियो । तर अहिले तीन वर्ष जति पछि जसले उनलाई उडाएर प्रतिक्रिया दिएका छन्, सबैलाई पक्कै पछुताउ लागेको हुनु पर्छ । यस्तै मोउरिन्होलाई नाना प्रकारले गाली गरेका फर्डिनान्डलाई पनि ग्लानी भएछ कि के हो, अहिले आएर माफि मागे । फर्डिनान्डको अहिले आएर भनाइ के हो भने मोउरिन्होले राम्रोसँग बुझेर नै यस्तो भनेका रहेछन्, आखिरमा यी प्रशिक्षकलाई क्लबभित्रको खोक्रोपन त थाहा थियो नै ।
यही खोक्रोपन अहिले वास्तवमै कति गहिरो रहेछ भनेर त प्रस्ट हुन थालेको नै छ । अहिले चलिरहेको सिजन त म्यानचेस्टरका लागि इतिहासकै सबैभन्दा खराव मध्ये एक रहेको छ । ब्राइटनविरुद्ध जुन चार गोलको हार बेहोरेको छ, त्यो त क्लब समर्थक सबैलाई असह्य नै रहेको छ । यो हारपछि के पनि निश्चित भएको छ भने अब म्यानचेस्टरका लागि प्रिमियर लिग इतिहासमै सन् २०१३–२०१४ यताको सबैभन्दा कम अंक खातामा रहनेछ ।
तिनै फर्डिनान्डले भनेका छन्, ‘मोउरिन्होकै पालामा म्यानचेस्टरमा धेरै कमजोरी देखापरिसकेको थियो, तर बाहिरबाट हामीले केही पनि देखेनौं । यसबारे प्रशिक्षकलाई थाहा हुने भया नै । उनी त्यही बेला निश्चित खेलाडीलाई निकाल्न चाहन्थे, तर हामी भने उनकै आलोचना गरिरहेका थियौं ।’ म्यानचेस्टरले अर्को सिजन एरिक टेन हागको प्रशिक्षणमा खेल्नेछ र उनका सामु पनि चुनौतीका पहाड हुनेछन्, क्लबको प्रदर्शन उकास्न । तय छ, क्लबलाई केही उम्दा खेलाडी किन्न आवश्यक हुनेछ ।
–मिररको सहयोगमा ।