काठमाडौं । म्यानचेस्टर सिटी सबैको सुक्ष्म नजरमा थियो । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडको हातबाट पराजित भएपछि सबैलाई लागिरहेको थियो, अब सिटी टुट्ने छ । अनि इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पनि माथ खानेछ । तर सिटीले आइतबार जुन प्रकारले न्युकासल युनाइटेडलाई पाँच गोलले पराजित गर्न सक्यो, त्यसलाई हेरेर भन्न कर लाग्छ, उसलाई त केही पनि भएकै रहेनछ । यो त जाँचमा सबै प्रश्नका उत्तर सटिक ढंगले लेखे जस्तै भयो ।
पेप ग्वार्डिओलाको टिमसँग जित्न बाँकी रहेको एउटै प्रतियोगिता भनेको प्रिमियर लिग नै हो । तर यसमा दु:ख के छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले लोभी नजरले उसलाई पछ्याएको पछ्याइ छ । रियलविरुद्धको सेमिफाइनलमा बेहोरेको पीडादायी हारले सिटीको पाइला डगमगाउने अपेक्षा थियो, त्यो आखिरमा भएन् । न्युकासलमाथि घरेलु मैदान इतिहातमा प्राप्त जितले निश्चित गरेको छ, अब उसले लिग उपाधिको रक्षा गर्ने पक्का पक्की जस्तै भएको छ ।

सायद अघिल्लो दिन लिभरपुल र टोटनहमबीचको खेल बराबरीमा टुंगेपछि सिटीले धेरै राहत महसुस गरेको हुनु पर्छ । न्युकालसविरुद्ध सिटीका खेलाडीको ‘बडी ल्याङ्ग्वेज’ खराव देखिएन्, उत्साहित नै देखिन्थ्यो । अझ एकपछि अर्को गोल निस्केपछि त सबै खेलाडी खुसी देखिए र लागिरहेको थियो, ती सबैले रियलविरुद्धको हारको दु:ख बिर्सिसकेका छन् । रियलविरुद्धको खेलपछि ग्वार्डिओलाको सबैभन्दा ठूलो काम यही थियो, खेलाडीलाई उकास्ने ।
नत्र न्युकालसविरुद्धको खेलमा तलमाथि भएको भए, टिममाथि दबाब अझ धेरै हुने निश्चित थियो । अब सिटी र लिभरपुल दुवैले लिगमा तीन तीन खेल खेल्न बाँकी छ । दुई टिमबीचको अबको अन्तर भनेको तीन अंक मात्रै हो । सिटीको ८६ अंक छ भने लिभरपुलको ८३ । अहिले नै सिटी ढुक्क भएर लिग जिते जस्तै गरेर आलस्य मान्ने छुट भने छैन् । तर कम्तीमा लिग उपाधि जित्ने बाटो अब उनकै हातमा छ, बाँकी सबै खेल जिते, उसलाई कसैले छुन पनि सक्दैन् ।
एउटा तथ्य भने यहाँनिर उल्लेख हुन आवश्यक छ । सिटीको तुलनमा लिभरपुलको गोल अन्तर राम्रो छ । त्यति मात्र होइन्, लिभरपुलले बढी गोल पनि गरेको छ । त्यसैले अझै पनि लिभरपुल सिटीमाथि अन्तिम समयसम्म दबाब सिर्जना गर्न सक्षम देखिन्छ । हुन सक्छ, लिभरपुलले अझै पनि सिटी चिप्लिएला र त्यसको फाइदा उठाउँला भनेर कुरिरहेको छ । लिभरपुल प्रशिक्षक योर्गन क्लोपले पनि उत्तिकै ‘माइन्ड गेम’ खेलिरहेको छ र सिटीलाई उक्साइरहेको छ, यो खुबै राम्रो टिम हो भनेर ।

न्युकासललाई हराएपछि ग्वार्डिओलाको आफ्नै प्रतिक्रिया भने यस्तो रह्यो । उनले भनेका छन्, ‘इंग्ल्यान्डमा अहिले सबैले कसैलाई समर्थन गरिरहेको छ भने त्यो लिभरपुललाई हो । लिभरपुललाई मिडियाको पनि समर्थन छ । सबैलाई थाहा छ, युरोपेली प्रतिस्पर्धामा लिरभपुललाई महारथ प्राप्त छ । तर सबैलाई के पनि थाहा हुनु पर्छ भने यही लिभरपुलको प्रिमियर लिगमा राम्रो इतिहास छैन्, पछिल्लो ३० वर्षमा उसले एकै पल्ट मात्र लिग जितेको छ ।’
र, यो रह्यो, ग्वार्डिओलाले खेलेको अर्को सटिक र धुँवाधार ‘माइन्ड गेम’ ।
–एजेन्सीको सहयोगमा ।