काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग खेलिरहेको आरसी ३२ फुटबल एकेडेमीका खेलाडी र अफिसियल म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा उत्रिएका छन् ।
लिग अन्तर्गत आइतबार पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियल हातपातमा उत्रिएका हुन् । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
एन्फा कप्लेक्समा दुई पटकको अग्रता जोगाउन नसक्दा आरसी ३२ बराबरीमा रोकिएको हो ।
खेलको १८ औं मिनेटमा विवेक सन्तोषीले गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा सदम मंसुरले गोल गर्दै पुल्चोकलाई १-१ गोलको बराबरीमा ल्याए ।
इन्जुरी समयमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै आरसी ३२ लाई २-१ को अग्रता दिलाए ।
त्यसको एक मिनेट नबित्दै लक्ष्मण तामाङले गोल गर्दै पुल्चोकलाई २-२ को बराबरीमा ल्याएका थिए ।
तर, खेलपछि रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउदै आरसी ३२ का प्रतिनिधि रविन्द्र चन्द भीभीआईपी बक्समा रहेका रेफ्री एसेसरविरुद्ध खनिएका थिए । रविन्द्र सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् ।
रविन्द्र र रेफ्रीबीच चर्काचर्की चलिरहेको बेला मैदानमा रहेका खेलाडीहरु नै भीभीआईपी बक्समा आएर रेफ्रीविरुद्ध जाई लागेपछि थप तनावग्रस्त स्थिति सिर्जना भएको थियो ।
लिगमा आरसी ३२ ले ६ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ ।