के लिभरपुलले ‘अमरत्व’ प्राप्त गर्नेछ ?

काठमाडौं । फुटबलमा ‘अमर’ शब्द सायद यसअघि कहिले पनि प्रयोग भएको थिएन् । त्यसै पनि सबथोक अनित्य हुन्छ भने बोध भएकै बेला फुटबलमा अचेल यो शब्दको प्रयोग किन ? त्यो पनि इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलसँग जोडिएर । भएको के छ भन्दा लिभरपुल अहिले एकै सिजन चार ठूला उपाधि जित्न सक्ने संघारमा छ । बुधबार हिजै राति मात्र उसले भिल्लारियललाई हरायो र उसको युरोपेली च्याम्पियन्स लिग फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
लिभरपुल यसअघि नै एफएकपको फाइनल पुगिसकेको छ । प्रिमियर लिगमा पनि शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्र पछाडि छ । उसले लिगकप त जितिसकेकै छ । यसअघि कुनै क्लबले एकै सिजन यसरी चारै उपाधि जितेको इतिहास छैन् । लिभरपुलले यसलाई साकार बनायो भने के हुन्छ त ? यही क्रममा त हो, ‘अमर’ शब्द अगाडि आएको । अर्थात लिभरपुलले साँच्चै चारै उपाधि जित्यो भने यो सिजन उसका लागि अमर रहनेछ ।
प्रश्न त्यही हो, के यो सम्भव छ त ? ठीक यति बेला कम्तीमा लिभरपुल समर्थकलाई लागिरहेको पनि हुन सक्छ, हुन सक्छ है । इतिहास नै पल्टाउने हो भने म्यानचेस्टर युनाइटेड, बार्सिलोना, इन्टर मिलान, बायर्न म्युनिक, सेल्टिक, आयाक्स र पीएसजीले अहिलेसम्म एकै सिजन तीन उपाधि जितेको कीर्तिमान बनाएको छ र ती हुन्, युरोपेली कप, अनि घरेलु लिग र कप उपाधि । लिभरपुलले चार उपाधि जित्न सके, यी सबैलाई उछिन्न सफल रहनेछ ।
म्यानचेस्टर युनाइटेडका खेलाडी हुन्, रिओ फर्डिनान्ड । लिभरपुलको सत्रु क्लब हो, म्यानचेस्टर । यिनै फर्नान्डो मान्छन्, लिभरपुलको अहिलेको लक्ष्य भनेको यी चार उपाधि जित्नु नै हुनु पर्छ । अचेल फुटबल पण्डित भएका उनी भन्छन्, ‘लिभरपुलले यही लक्ष्य बनाउनु पर्छ । यदी उनीहरूले यो प्राप्त गर्न सक्यो भने त यो विश्व फुटबलमा लिभरपुलले अमरत्व प्राप्त गरे जस्तै हुनेछ । त्यसपछि त लिभरपुल सब अरू टिमभन्दा माथि हुनेछ ।’ यसका लागि लिभरपुलले के गर्नु पर्नेछ त ?
एफएकपको फाइनलमा उसको प्रतिद्वन्द्वी हो, चेल्सी । त्यो जित्नु पर्छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई चिप्लिन पनि आवश्यक छ । च्याम्पियन्स लिगमा फाइनल पुगे जस्तै हो, उपाधि भिडन्तमा उसको सामना त्यही सिटी पनि हुन सक्छ, होइन् भने रियल म्याड्रिड । त्यो पनि जित्नु पर्छ । लुइस एनरिक्वे लिभरपुलका पूर्व डिफेन्डर हुन् । उनलाई भने लिभरपुलले चारै उपाधि जित्ने विश्वास छ, तर उनी के पनि मान्छन् भने यो वास्तवमै असम्भव जस्तै पनि छ ।
खासमा लिभरपुलले आजको दिनदेखि तय गर्ने बाटो आफैमा कठिन छ । सिजनका बाँकी ३१ दिनमा लिभरपुलले आठ खेल खेल्नेछ, सबै उत्तिकै महत्त्व । महत्त्वका खेल त भयो नै, यी सबै कप फाइनल जस्तै हुन । यी सबै आठ खेल जित्यो भने त गज्जब नै हुने हो । तय छ, लिभरपुल वास्तवमै सर्वकालीन महान क्लब हुने बाटोमा छ । त्यो भनेको अमर हुने नै त हो । लिभरपुलका अर्का पूर्व खेलाडी माइकल ओवेनले ठीकै भनेका छन् ।
उनी भन्छन्, ‘एकै सिजन चार उपाधि, यो त असम्भव नै हो, तर अहिले लागिरहेको छ, यो सम्भव पनि छ ।’
–बीबीसीको सहयोगमा ।













