एजेन्सी । कसैलाई पनि एकै खेलमा दुई पेनाल्टी चुक्ने जत्तिको खराव स्थिति निको लाग्दैन । करिम बेन्जेमाले स्पेनी ला लिगामा रियल म्याड्रिडका लागि यस्तै काम गरे । खेल थियो, ओसासुनाविरुद्ध । धन्न, त्यसमा रियलकै जित भयो । अनि धन्न, बेन्जेमाका प्रतिष्ठामा पनि घात लागेन् । खासमा उनका लागि यो सिजन खुबै उत्कृष्ट सावित हुँदैछ । रियलका लागि उनले जुन खाले प्रदर्शन गरेका छन्, त्यसले सिद्ध भएको छ, उनी विश्व फुटबलले पाएका एक राम्रा स्ट्राइकर हुन् ।
यो सिजन उनी सामु दुई ठूला उपाधिको अवसर छ । त्यसमध्ये ला लिगा त पक्का पक्की देखिन्छ, युरोपेली च्याम्पियन्स लिगको सम्भावना पनि उत्तिकै छ । तथ्यांककै कुरा गर्दा उनी चौथो पल्ट ला लिगा र पाँचौं पल्ट च्याम्पियन्स लिग जित्न सक्छन् । मंगलबार च्याम्पियन्स लिगमा रियलले म्यानचेस्टर सिटीको सामना गर्दैछ र त्यसमा खेले, रियलका लागि बेन्जेमाको त्यो छ सयौं खेल हुनेछ । यसक्रममा उनले पुराना लेजेन्ड पाको गेन्टोको बराबरी गर्नेछन् ।
भर्खरै जसो त हो, उनले रियलका लागि ३ सय १८ गोल गर्दै अर्का रियलका महान खेलाडी अल्फ्रेडो डि स्टेफानोलाई उछिनेका छन्, सर्वाधिक गोलकर्ताको सूचीमा । अब उनका अगाडि राउल र क्रिस्टियानो रोनाल्डो मात्र छन् । राउलले ३ सय २३ गोल गरेका छन् भने रोनाल्डोले ४ सय ५० । उनले यो सिजन ३९ गोल गरिसकेका छन्, त्यो भनेको ४० गोलको कोशेढुंगा उपलब्धीबाट एक गोल टाढा । यस्तो गर्न सके, उनले आफ्नो खेल जीवनमै पहिलो पल्ट ४० गोल गर्नेछन् ।
रोनाल्डोलाई छाडेर उनी यस्तो कीर्तिमानी प्रदर्शन गर्ने पहिलो रियलका खेलाडी हुनेछन् । उनी यसपल्ट युरोपकै सबैभन्दा प्रभावशाली फरवार्ड रहेका छन, किनभने उनले औसत एक खेलमा एक गोल गरिरहेका छन् । स्पेनी ला लिगामा यस सिजन उनी सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् नै, त्यसैले उनले पहिलो पल्ट पिचिचि ट्रफि जित्ने पनि लगभग तय देखिन्छ । ला लिगा जित्ने निश्चित रहेको बेला बेन्जेमाले रियलका लागि २० औं उपाधि जित्ने पनि पक्का देखिन्छ ।
रियलका लागि सर्जियो रोमासले २२ र मार्सेलोले २३ उपाधि जितेका छन् । यी सबै पृष्ठभूमिमा अबका बेलन डे अरका लागि सबैभन्दा बलियो प्रत्यासी त यिनै बेन्जेमा त भए । यो उपाधिको दौडमा यसपल्ट लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पनि छैनन् । सायद उनको नजिकका सबैभन्दा बलिया प्रत्यासी हुन्, लिरपुलका मोहम्मद सलाह । च्याम्पियन्स लिगकै कुरा गर्दा उनले यसपल्ट १२ गोल गरिसके, उनको भन्दा बढी एक गोल बायर्न म्युनिकका रोबर्ट लेवनडोस्कीले गरेका छन् ।
बायर्न प्रतियोगिताबाटै बाहिरिएको स्थितिमा बेन्जेमाले लेवनडोस्कीलाई उछिन्न सक्नेछन् । लियोनमा हुर्के बढेका बेन्जेमाको नाममा अहिले नै एउटा ठूलै कोशेढुंगा कीर्तिमान छ र यो हो, फ्रान्सेली खेलाडीमध्ये सबै खाले प्रतियोगिता जोडेर सबैभन्दा बढी गोल गर्ने खेलाडीको । उनले ४ सय ३५ गोल गरिसकेका छन र यो फ्रान्सेली फुटबलका दुई महान हस्ती बर्नार्ड लाकोम्बे र थिएरी हेनरी भन्दा पनि बढी हो । बेन्जेमा बास्तवमै बेजोड छन्, उनी उत्कृष्ट फरवार्ड नै हुन् ।
–मार्काको सहयोगमा ।