काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पाँच जना बोर्ड सदस्यले परिषद्को बोर्ड बैठकमा सहभागी गराउन माग गरेका छन् ।
बिहिबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर ५ जना बोर्ड सदस्यले बैशाख ९ गतेको परिषद्को बोर्ड बैठकमा आफुहरुलाई सहभागी गराउन माग गरेका हुन् ।
राखेपको बोर्ड बैठक बैशाख ९ गते अर्थात आगामी शुक्रबार बस्दैछ ।
सदस्यहरु रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रिम रानाभाट र सुभाष श्रेष्ठले बोर्ड बैठकमा सहभागी गराउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् ।
गत वर्ष माघ १९ गते आफुहरुले संयुक्त निवेदनमार्फत बोर्ड बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको उल्लेख गर्दै पाँच जना बोर्ड सदस्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीता सुनिश्चित गर्नका लागि राखेपको बोर्ड बैठक तत्काल बोलाउन माग गरेका हुन् ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा मनोनित भएका बोर्ड सदस्यलाई वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पदमुक्तको निर्णय गरेका थिए । गहतराजले पदमुक्त गरेका बोर्ड सदस्यको स्थानमा नयाँ बोर्ड सदस्य नियुक्त गरेका थिए ।
वर्तमान सरकारको पदमुक्तको निर्णयविरुद्ध बोर्ड सदस्यले पुर्नबहालीको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए । बोर्ड सदस्यको रिटमाथि अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको थियो ।
मन्त्री गहतराजले आफुले पदमुक्त गरेका र नयाँ नियुक्त गरेका बोर्ड सदस्यलाई बाहिर राख्दै बैशाख ९ गते राखेपको बोर्ड बैठक आह्वान गरेका छन् । नवौं राष्ट्रिय खेलकुद र अन्य विभिन्न एजेण्डामा निर्णय गर्न भन्दै राखेपको बोर्ड बैठक झण्डै तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो ।
सोही बैठकमा आफुहरुलाई सहभागी गराउन माग गर्दै बोर्ड सदस्यले मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।