काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
कोभिड-१९ को कारण स्थगित पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको हो ।
यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै यस खेल यस अघि शनिबार हुने तय थियो । तर, वर्षाका कारण मैदान खराब भएपछि खेल आज बुधबारका लागि सारिएको हो ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रबाट माथि उक्लन च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।