एजेन्सी । नर्वेजियन फरवार्ड हालाण्ड दबाबमा छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डसँग हालाण्डको सम्झौता सन् २०२४ सम्म छ । तर उनलाई जति सक्दो चाँडो क्लब छाड्न सुझाव आईरहेका छन् ।
त्यसैले बोरुसिया डर्टमण्ड पछिल्ला गतिविधिबाट सशंकित छ । उसले हालाण्डलाई भविष्यको बारेमा चाँडो निर्णय गर्न दबाब दिईरहेको छ । यसको खुलासा स्वयम हालाण्डले गरेका छन् ।
उनले भनेका छन्, 'क्लबले मलाई भविष्यको विषयमा निर्णय गर्न ठुलो दबाब दिएको छ ।'
हालाण्ड पछिल्लो समय युरोपका ठुला क्लबको निशानामा छन् । युरोपका धनी र ठुला क्लब उनीमाथि आखाँ लगाईरहेका छन् । २१ वर्षको उमेरमा आफुलाई विश्वको उत्कृष्ट फरवार्डको रुपमा प्रमाणित गरेपछि ठुला क्लब हालाण्डको पछि छन् ।
गत शुक्रबार डर्टमण्डले फ्रइबर्गलाई ५–१ ले हरायो । खेलपछि हालाण्डले भनेका छन्, 'उनले खेलमा आफुलाई केन्द्रित गर्न पाएका छैनन् ।'
उनले क्लबको दबाबका कारण आफुले फुटबलमा पूर्ण रुपमा ध्यान दिन नसकेको स्विकार गरे ।
'पछिल्ला ६ महिना मैले डर्टमण्डको सम्मानमा केही नबोल्ने रोजेको छु ।' उनले भनेका छन् ।
'तर क्लबले मलाई निर्णयका लागि दबाब दिन थालेको छ । तर म केवल फुटबल खेल्न चाहन्छु ।' हालाण्डले भने ।
'तर उनीहरु अहिल्यै भविष्यको विषयमा निर्णय लिन भनिरहेका छन् । त्यसै कारण मैले भविष्यको विषयमा चाँडै निर्णय गर्नुपर्नेछ ।' उनले भने ।
'मैले सुरुवातदेखिनै भनेको छु, म फुटबलमा केन्द्रित हुन चाहन्छु । किनकी त्यो तब हुन्छ, जब म राम्रो अवस्थामा हुन्छु । त्यो बेला हुँदैन, जतिबेला मेरो दिमागमा अन्य चिज आउँछन् ।'
हालाण्डले डर्टमण्डसँग सन् २०२४ सम्म सम्झौता गरेका छन् । उनी सन् २०२० को जनवरीमा रेडबुल साल्जवर्गबाट डर्टमण्ड आएका थिए ।
युरोपका ठुला क्लब रियल मड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, लिभरपुल, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) उनीसँग जोडिएका छन् ।
हालाण्डले सबै प्रतियोगितामा डर्टमण्डका लागि ७८ खेलमा ७७ गोल गरेका छन् ।