काठमाडौं । सबैसामु जगजाहेर जस्तै थियो, राफेल बेनिटेज एभर्टनमा धेरै समय टिक्ने छैनन् ।
यी व्यवस्थापक एभर्टनका लागि बनेकै थिएनन् ।
आखिरमा नियुक्तीको छ महिनापछि उनी बर्खास्तीमा परे । इंग्लिस प्रिमियर लिगमा नरविचको हातबाट पराजित भएपछि बेनिटेजले आखिरमा जागिर गुमाए ।
धेरैले यसलाई स्वभाविक नै मानेका छन् र भन्न थालेका छन्, बेनिटेजको नियुक्ती आफैमा गलत थियो । त्यसमाथि उनी एभर्टनका समर्थकमाझ खुबै अलोकप्रिय थिए र यसको ठोस कारण पनि छ ।
लिभरपुलको व्यवस्थापक रहेको बेला बेनिटेजले भनेका थिए, एभर्टन सानो क्लब मात्र हो । अहिले यही सानो क्लबले उनलाई हटाएको छ र एभर्टनमा प्रशिक्षक पद खालि भएको छ ।
अब को आउने छन् त ? यसका लागि बेलायती मिडियाले सम्भावितको एउटा सूची नै बनाएका छन् । त्यसमा सबैभन्दा अगाडि छन्, क्लबकै पूर्व व्यवस्थापक रोबर्टो मार्टिनेज । उनी अहिले बेल्जियमका प्रशिक्षक छन् । यस्तै सहायक प्रशिक्षक डन्कन फर्गुसनको सम्भावना रहेको पनि बताएको छ ।
केहीले डर्बीको जिम्मेवारी सम्हालिरहेका वायन रोनीको सम्भावना पनि देखेका छन् । आखिरमा उनी एभर्टनकै उत्पादन हुन् । अब आउने प्रशिक्षकलाई पनि सजिलो भने हुने छैन्, किनभने एभर्टन रेलिगेसन क्षेत्रबाट खालि छ अंक मात्र अगाडि छ ।
अहिलेसम्म इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा नपरेको एभर्टनलाई जसरी पनि बाँच्नु छ ।
–बीबीसीको सहयोगमा ।