काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुनेछ ।
नवौं चरणको अन्तिम लिग खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । र, लिगको आठौं स्थानमा रहेको छ ।
आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य तीन अंककै लागि मैदान उत्रने बताउँछन् ।
'तीन अंकको लागि खेल्ने हो । पछिल्लो खेलमा खेलाडीले खेल्न सकेन अहिले हामीले त्यसमा काम गरेका छौँ । आउने खेलहरुमा हामीले राम्रो गर्ने छौँ,' शाक्य भन्छन् ।
जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ ।
जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।