पोखरा । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तिव्र पारिएको छ।
प्रतियोगितालाई कसरी सफल पार्ने भन्ने बिषयमा आयोजक सहारा क्लव पोखराले आइतबार सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यहरु संग छलफल गरेको छ ।
बैठकका सहभागीहरुले प्रतियोगिता सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको बैठकमा सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहारा क्लब हङकङले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले समग्र क्लबको गतिविधिमाथि चर्चा गर्दै हिमाअस एजुकेशसन, मुलबेरी र मुग्लान रेष्टुरेन्टको प्रायोजन रहने बताए ।
त्यस्तै सहारा युकेका अध्यक्ष ले.रि.कुसाङ गुरुङले प्रतियोगिता सफल पार्न सहारा युकेका पूर्व अध्यक्ष कुमार गुरुङ लगायत ५० जनाको टोली पोखरा आइसकेको जानकारी दिए ।
बैठकमा सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली, क्लबका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले बोलेका थिए ।
पोखरा रंगशालामा माघ ६ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी प्रतियोगिता संचालन गर्न लागिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले प्रतियोगिताबाट बचत रकम पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्ने जनाएको छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटर, अफिसियल बैंंकका रुपमा लुम्बिनी बैंक रहेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्ट्रेलियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।