काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले आइतबार सहज जित निकाल्यो ।
मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । मछिन्द्रले लिगमा ४ अंकको अग्रता बनाएको छ । मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।
जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले अपराजित रहदै उपाधि जित्ने लक्ष्य रहेको बताए ।
'अपराजित रहदै जित्ने लक्ष्य छ । पछिल्लो वर्ष अन्तिम खेल फाइनल जस्तो भएको थियो । त्यो नहोस् भनेर त्यहि अनुसार योजना बनाएको छौँ,' प्रवेशले भने, 'जित्दै गयौं भने हामीलाई सजिलो हुन्छ । दुई खेल अगाडी नै जित्न सकिन्छ । तर, आफुले सय प्रतिशत दिएर जित्ने गरि खेल्नु पर्छ ।
यस्तै प्रवेशले बाँकी चार खेल टिमका लागि कठिन हुने समेत बताए ।
'लिग हो अझै ४ वटा खेल छ । सबै टिम राम्रो छ । सातदोबाटो, थ्री स्टार, एपीएफ र च्यासल छ । यसो हेर्दा अब हामीलाई वरीयताको आधारमा अलिकति सजिलो हुन्छ जस्तो लाग्छ । तैपनि कुनैपनि टिमलाई सजिलो मान्नु हुँदैन,' उनले थपे ।
ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले खेलाडी बढी कन्फिडेन्स हुँदा पराजित भएको बताए ।
'खेलाडीहर चाहिने भने बढी कन्फिडेन्स देखिए । किपरले बल बाहिर गयो भनेर छाडेको बल भित्र आयो र गोल खान पुग्यो । त्यसमा अलि बढी कन्फिडेन्स जस्तो देखियो । दोस्रो गोल हाम्रो लास्ट डिफेन्सले वान भर्सेस वानमा क्लियर गर्दा हुनेमा रिक्स लिएर भयो,' उनले भने, 'हाम्रो खेलाडीमा बढी कन्फिडेन्स भयो जस्तो लाग्यो । पहिलो गोल खानु नै टर्निङ पोइन्ट भयो ।'