काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । एक गोल कोरेनतीन टोलिस्सोको नाममा रह्यो ।
खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए ।
यस जितसँगै बायर्नले १९ खेलमा ४६ अंक जोडेको छ ।
कोल्नले १९ खेलमा २८ अंक जोडेको छ ।
अर्को खेलमा बोरुसिया डर्टमण्डले फ्रेईवर्गलाई ५-१ गोल अन्तरले हराएको छ ।