काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले शुक्रबार संघर्षपूर्ण जित निकाल्यो।
एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो । एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।
यस जितपछि एपीएफको रेलिगेसनको सम्भावना केहि टरेको छ । महत्वपूर्ण खेलमा जित निकालेपछि एपीएफका प्रशिक्षक कुमार थापा खुशी देखिए ।
'हामीले श्वास फेर्ने मौका पाएका छौँ । नत्र हामीलाई गार्हो हुन्थ्यो । हामीलाई आजको खेल महत्वपूर्ण थियो । हामी हारेको भए हिमालयनको १४ हुन्थो, हाम्रो ७ हुन्थ्यो । तीन खेलले पनि भ्याउने थिएन । अहिले १ अंकको फरक हो,' थापाले भने, 'खेलाडीले अन्तिमसम्म मेहेनत गरे । हामीले जुन सोचेको थियौं । हामीलाई जित्नैपर्ने थियो । नत्र हामीलाई गार्हो थियो । त्यसमा सफल भएका छौँ । खुशी छौ ।'
हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले विपक्षीको रणनीतिमा चुक्दा पराजित भएको बताए ।
'खेल्न गार्हो भयो । जहाँसम्म लाग्छ ९ वटा खेलमा आजको खेल सबैभन्दा खराब थियो । ए डिभिजन लिग एकदम टेक्निकली भएकाले खेल्न गार्हो भएको हो,' उनले भने, 'उहाहरुको पनि आफ्नै रणनीति थियो, त्यो रणनीतिविरुद्ध कसरि जाने भन्नेमा हामी चुक्यौं । अबको खेलहरु गार्हो हुन्छ ।'
प्रशिक्षक राईले एपीएफविरुद्ध खेलाडीले सामान्य गल्तिहरु गरेको बताए ।
'मानशिक रुपमा खेलाडीलाई गार्हो भयो की तर टेक्निकल रुपमा गार्हो थिएन । सामान्य गल्तिहरु भयो । त्यो गल्ति भयो भने १० क्लासमा पढ्ने भाइहरुसँग समेत हार्छौं,' उनले थपे।