काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले जित निकालेको छ ।
शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।
आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । कप्तान नवीन लामाको कर्नरमा आवाशले हेडमार्फत उत्कृष्ट गोल गरे । जुन गोल खेलको निर्णायक बन्यो ।
आवाशको गोल बाहेक दुबै टोलीले पाएको अन्य मौकामा सदुपयोग गर्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गरेका थिए । तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
खेलको २१ औं हिमालयनका मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर प्रहार पोस्ट बारमा लागेर बाहिरिएको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिमालयनले बराबरीको मौका गुमायो । तर एपीएफका गोलकिपर युया कुरियामाले पन्च गर्दै क्लियर गरेको बलमा पेनाल्टी एरियाको ठिक बाहिरबाट हिमालयनका मुतम्बा पिस्टनको प्रहार आकाशिएको थियो ।
खेलको ६३ औं मिनेटमा हिमालयनका मिलन राईको कर्नरमा उल्रिच सिवेको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो।
खेलको ७१ औं मिनेटमा एपीएफका युवराज खड्काको पेनाल्टी क्षेत्र भित्रबाटको प्रहार हिमालयनका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।
हिमालयनका मुतुम्बा पिस्टनले ७५ औं मिनेटमा प्रहार गरेको फ्रिकिक एपीएफका गोलकिपर कुरियामाले मुश्किलले बचाए ।
खेलको ८३ औं मिनेटमा एपीएफका मणि लामाको प्रहार हिमालयनका गोलकिपर किशोरले बचाए ।
यस जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा उक्लिएको छ ।
हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा चुनिए ।
इमर्जिङ प्लेयर एपीएफका गोलकर्ता आवाश चुनिए ।